ललितपुर। विश्वसम्पदा सूचीकृत पाटन दरबार स्क्वायर क्षेत्रभित्र अनुमतिबिना फोटो पनि खिच्न नपाइने भएको छ। ललितपुर महानगरपालिकाले आइतबारदेखि पाटन दरबार स्क्वायर क्षेत्रमा अनुमति बिना कुनै पनि कार्यक्रम गर्न बन्देज लगाएको हो।
महानगरपालिका भित्रको ऐतिहासिक, सांस्कृतिक सम्पदा संरक्षण गर्नको लागि सो निर्णय गरेको महानगरप्रमुख चिरिबाबु महर्जनले बताए । उनले दरबार स्क्वायर क्षेत्रभित्र सवारी प्रवेशदेखि विभिन्न कार्यक्रममा प्रतिबन्ध लगाइएको जानकारी दिए।
दरबार क्षेत्रमा जथाभावी कार्य गर्नले सम्पदामा क्षति पुगे र संरक्षण गर्न आवश्यक भएकाले महानगरपालिकाले सो निर्णय गरेको उनले बताए ।
उनले पछिल्लो समय दरबार क्षेत्रमा भिख माग्ने, अनुमतिबनिा फिल्म तथा फोटो सुटिङ गर्ने, जथाभावी टिकटक बनाउने जस्ता कार्य गरी धार्मिक र साँस्कृतिक पक्षमा आँच आउने कार्य गरेकोले सो कार्य गर्न प्रतिबन्ध लगाएको बताए ।