काठमाडौं। डोटीको नेपाली सेनाको भैरवप्रसाद गणले बोगटान फुड्सिल गाउँपालिकामा हेलिप्याड निर्माण गरेको छ । जिल्ला सदरमुकामबाट विकट मानिएको फुड्सिलमा गाउँपालिकासँगको समन्वयमा भैरवप्रसाद गणले हेलिप्याड निर्माण गरेको हो ।
प्राकृतिक विपद्, सुत्केरी महिलाको उद्धार तथा गम्भीर खालको बिरामीलाई आकस्मिक उद्धार गर्न सहज होस् भनेर हेलिप्याड निर्माण गरिएको गणले बताएको छ।
भैरवप्रसाद गणको पाँच लाख रुपैयाँको लगानीमा बोगटान फुड्सिल गाउँपालिकाको केन्द्र चवराचौतारमा हेलिप्याड निर्माण भएको हो । सदरमुकामभन्दा बाहिर सबैभन्दा पहिला बोगटानमा हेलिप्याड निर्माण गर्नु खुसीको कुरा भएको गाउँपालिकाले जनाएको छ।
नेपाली सेना र बोगटान फुड्सिल गाउँपालिकाको समन्वयमा मिति तय गरी हेलिप्याडको उद्घाटन गर्ने तयारी रहेको गणले जनाएको छ ।