काठमाडौं। राष्ट्रिय गौरवका आयोजना अन्तर्गत रहेको हुलाकी राजमार्गको राप्ती नदीमा बन्ने पुलको ठेक्का लागेको छ। हुलाकी राजमार्ग आयोजनाका अनुसार नेपालगञ्जमा राप्ती नदीमाथि पुल निर्माण गर्न लगाएको हो।
यसमा लुम्बिनी– रतुवा– बन्दन भगवती जेभीले लगभग १ अर्ब ५० करोड लागतमा डिजाइन तथा निर्माण गर्ने गरी ठेक्का पाएको छ। यसको ठेक्का ४ महिना अगाडि आह्वान गरिएको थियो।
यसमा ४ वटा निर्माण कम्पनीहरुले आवेदन दिएका थिए। जसमा कुमार श्रेष्ठ, कालिका कन्स्ट्रक्सन, रतुवा र लुम्बिनी–रतुवा– बन्दन भगवती जेभी रहेका छन्।
यो पुलको निर्माण र डिजाइन दुबै निर्माण कम्पनीले गर्नुपर्ने हुन्छ। यो पुल नेपालगञ्जको बाँकेमा निर्माण हुने आयोजनाले जनाएको छ।
यो पुल ७०० मिटर लामो रहेको छ। यसको डिजाइन निर्माण कम्पनीले ६ महिनामा सम्पन्न गर्नुपर्छ। यसमा निर्माण र डिजाइन गर्न ३ वर्षको समय दिइएको छ। डिजाइन सम्पन्न भएको ३० महिनामा निर्माण कार्य सम्पन्न गर्नुपर्ने आयोजनाले जनाएको छ। यहाँ भएको पुरानो पुल जोखिम अवस्थामा रहेको छ।
आयोजनाका अनुसार हालसम्म ११५ वटा पुलको निर्माण कार्य सम्पन्न भएको छ। यस आयोजनामा साना ठुला गरी कुल २५० वटा पुल निर्माण गर्ने योजना छ। जसमा ४५ वटा पुल निर्माणाधिन रहेका छन् भने ५० वटा पुलको ठेक्का लगाउनै बाँकी रहेको आयोजनाले जनाएको छ।