काठमाडौं। इन्टरनेट सेवा प्रदायकहरूले जुनसुकै बेला पनि इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने चेतावनी दिएका छन्। इन्टरनेट सेवा प्रदायकहरूको संस्था (आइस्पान)ले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जुनसुकै बेला पनि सेवा अवरुद्ध हुन सक्ने चेतावनी दिएको हो।
विद्युत् प्राधिकरणले एकतर्फी रूपमा आफूखुसी पोल भाडा बढाएको र आफूहरूको मागका विषयमा पनि कुनै सुनुवाइ नभएकाले सेवा अवरुद्ध गर्ने इन्टरनेट कम्पनीहरुको चेतावनी छ।
प्राधिकरणको भाडादरको कारण उपभोक्तालाई समेत असर पर्ने भएकाले र डिजिटल नेपालको मर्मविपरीत भएकाले राज्यको उच्चस्तरीय समिति गठन भई प्रतिवेदन दिएको तर प्राधिकरणले उक्त प्रतिवेदन कार्यान्वयन गर्न नमानेको आइस्पानको आरोप छ।
पत्रकार सम्मेलनमा आइस्पानका अध्यक्ष सुधिर पराजुलीले प्राधिकरणले पुरानै भाडा तिर्ने र बढेको भाडा पनि तिर्ने सम्झौता गर्न दबाब दिइरहेको र भाडाकै निहुँमा इन्टरनेटको तार काटिरहेको बताए।
विद्युत् प्राधिकरणले आफैँ जबर्जस्ती ६ सय देखि ७ सय प्रतिशत पोल भाडा बढाएर मानव अधिकारको समेत उलंघन भएको उनको भनाइ छ।