सोलुखुम्बु। सोलुदुधकुण्ड नगरपालिकाले निर्माणाधीन सल्लेरी तामाखानी सडकको सोलु दूधकुण्ड तोकिएकै समयमा निर्माण सम्पन्न गर्न निर्देशन दिएको छ। बुधबार सोलुदूधकुण्ड नगरपालिकाका नगरप्रमुख नाम्गेलजाङ्बु शेर्पाले सडक निरिक्षण गर्दै समयमै निर्माण सम्पन्न गर्न आग्रह गरेका हुन्।
यो सडक प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास तथा सहरी विकास मन्त्रालयको रु ४२ करोड लागतमा निर्माण भइरहेको छ। यो सडक सल्लेरी तामखानी जोड्ने मात्र नभएर लिखुपिके गाउँपालिकाबाट स्थलमार्ग हुँदै सदरमुकाम सल्लेरी जोड्ने सबैभन्दा छोटो मार्ग समेत हो ।
सल्लेरी थापाटोलको जिरोप्वाइन्टदेखि तामाखानी क्षेत्रसम्म करिब १३ किलोमिटर सडक ग्राबेलसहित, ग्याभिङ, साइड खन्नेलगायतको काम यो चरणमा हुने जनाइएको छ । सडक ग्राबेलको ठेक्का ओसेस इन्जिनियर विल्डर्स प्रालिले रु २१ करोड २३ लाखमा पाएको छ । तोकिएकै समयमा गुणस्तरीय काम सक्ने सवालमा आफूहरु प्रतिबद्ध रहेको निर्माण कम्पनीको भनाइ छ। कम्पनीले डेढ वर्षभित्र काम सक्ने गरी गत असारमा निर्माण कार्य सम्झौता गरेको हो ।