काठमाडौं। सोलुखुम्बु जिल्लाको थुलुङदुधकोशी गाउँपालिकाका अध्यक्ष असीम राईले पुल बनिसक्नुपर्ने वेला शुरु पनि नभएपछि पुल बनाउन ताकेता गर्न थालेका छन्।
गाउँपालिका भित्र बनिसक्नुपर्ने दिप्लीघाट र बर्खुघाट मोटरेबल पुल निर्माणको विधिवत् शुरुवात अझै भएको छैन। निर्माण व्यवसायी महासंघका अध्यक्षसमेत रहेका रवि सिंहको निर्माण कम्पनी महादेव खिम्ती हिराचन जेभीले ठेक्का पारेको थियो।
२०७५ असार २४ गते सम्झौता भएको दिप्लीघाट मोटरेबल पुल २०७८ असार २३ भित्र सम्पन्न भइसक्नुपर्ने भए पनि आजसम्म शुरु नै भएन। यसैगरी २०७७ भदौ १० सम्झौता भएको बर्खुघाट मोटरेबल पुल ३३ महिनाभित्र निर्माण सम्पन्न भइसक्नुपर्नेमा अझै शुरु भएको छैन।
यी पुलहरू क्रमशः १० करोड १८ लाख र ११ करोड ६० लाखको लागतमा बनिसक्नुपर्ने थियो। गाउँपालिकाका अध्यक्ष राईले निर्माण कम्पनीलाई भेटेर ध्यानाकर्षण गराए पनि कम्पनीले निर्माणमा चासो नलिएको बताए।
उनले भने, ‘विभिन्न माध्यम तथा प्रत्यक्ष भेटेरै पनि ध्यानाकर्षण गराएँ तर आयोजना निर्माण भइसक्नुपर्ने अवधि बित्दा समेत काम शुरु भएन, पुनः काम शुरु गर्न ठेकेदार कम्पनीको ध्यानाकर्षण गराएको छु।’ थाहा खबरबाट