कञ्चनपुर। लालझाडी गाउँपालिका–३ स्थित दोदा नदीमा तटबन्ध निर्माण सुरु गरिएको छ। उक्त नदीले बर्सेनि गर्दै आएको भूक्षय नियन्त्रणका लागि तटबन्ध निर्माण सुरु गरिएको हो।
जनताको तटबन्ध कार्यालय महेन्द्रनगरले रु पाँच करोड ९१ लाखको लागतमा दोदा नदीमा एक हजार एक सय २० सय मिटर लम्बाइको तटबन्ध निर्माण गरिरहेको छ ।
प्रशंसा भागेश्वर जेभीसँग तटबन्ध निर्माणका लागि ठेक्का सम्झौता भइ निर्माणकार्य अगाडि बढाइएको जनताको तटबन्ध कार्यालयले जनाएको छ। उक्त तटबन्ध निर्माणकार्य तीन खण्डमा हुने भएको छ।
चालु आर्थिक वर्षभित्रै तटबन्ध निर्माणकार्य सक्ने गरी निर्माण कम्पनीसँग सम्झौता गरीएकोले निर्धारित समय भित्रै तटबन्ध निर्माण सम्पन्न हुने विश्वास गरिएको छ। तटबन्ध निर्माण भएपछि नन्दगाउँ, कञ्ज, कस्वालगायतका चार सय परिवार नदीको जोखिमबाट जोगिने गाउँपालिकाले जनाएको छ।
तटबन्ध निर्माणले थोरै क्षेत्रका बासिन्दाको नदीको बाढीबाट सुरक्षा हुने भएको उल्लेख गर्दै उनले गुरुयोजना बनाइ गाँउपालिका क्षेत्रमा पर्ने नदीको पूरै क्षेत्रमा तटबन्ध निर्माण गरिनुपर्ने बताइएको छ।