पूर्वी नवलपरासी। गैंडाकोटस्थित नारायणी नदी किनारमा तटबन्ध निर्माण सुरु भएको छ । नारायणीको कटान नियन्त्रण गर्न तटबन्धनसँगै किनारैकिनार इको करिडोर पनि बन्ने भएको छ । गैंडाकोटको कुसुमघाटदेखि थुम्सीसम्म नारायणी नदी व्यवस्थापन एवं तटबन्धन आयोजनाअन्तर्गत तटबन्ध निर्माण थालिएको हो । तटबन्ध निमार्णमा खोलाकै गिटीबालुवा प्रयोग हुनेछ ।
१ अर्ब ७४ करोड ३० लाख लागतमा तटबन्धन निर्माणको काम सुरु भएको नारायणी नदी व्यवस्थापन आयोजना भरतपुरका सिनियर डिभिजनल इन्जिनियर शेखरनाथ न्यौपानेले जानकारी दिए । गैंडाकोट नगरपालिका–२, ६ र ९ मा सञ्चालन हुने पहिलो चरणको कामअन्तर्गत ४ हजार ९ सय ४५ मिटर बाटो उकास्ने कामसहित क्रंकिट ब्लकको तटबन्ध हुने आयोजनाले जनाएको छ ।
सात मिटर उचाइको तटबन्ध निर्माण सुरु भएको हो । तटबन्धको माथिल्लो भागमा ७।५ मिटरको बाटो निर्माण गरिने न्यौपानेले बताए । नारायणी नदीतर्फ ११ मिटर लम्बाइमा कंक्रिट ब्लकको लन्चिङ तथा रिभर बेड बनाइनेछ । नेपालमा पहिलो पटक नदी व्यवस्थापनमा यस्तो तटबन्धनको प्रयोग गर्न लागिएको बताइएको छ । तटबन्ध निर्माण सकिँदा त्यसकै माथिल्लो भागलाई सडकका रूपमा प्रयोग गर्न सकिनेछ । आयोजनाबाट निर्माण हुने तटबन्ध र सडक अति आर्कषक र अन्तर्राष्ट्रिय स्तरको हुनेछ । गैंडाकोटदेखि करिब ४० किमि दक्षिण त्रिवेणीधामसम्मको क्षेत्रमा नदी किनारबाट सडक बनाउन स्थानीय तहबाट प्रयास भइरहेको छ ।
गैंडाकोट–२ मा ५ सय मिटर, वडा नम्बर ६ मा ६ सय ३० मिटर र वडा नम्बर ९ मा ६ सय ६५ मिटरको तटबन्ध बन्ने भएको हो । आयोजनाले गैंडाकोटको थुम्सी क्षेत्रबाट काम सुरु गरेको छ । गैंडाकोटदेखि थुम्सीसम्मको करिब ५ किमि क्षेत्रमा गत मंसिरबाट काम सुरु भएको हो । ०८२ जेठसम्म तटबन्धनको काम सक्ने लक्ष्य रहेको इन्जिनियर न्यौपानेले जनाए । नारायणीको चितवनतर्फको भागमा पनि तटबन्ध निर्माण भइरहेको छ । कान्तिपुरबाट