रुकुम पश्चिम। जाजरकोटलाई रुकुम पश्चिम र डोल्पासम्म जोड्न भेरी नदीमा अस्थायी पुल निर्माण गरिएको छ । जाजरकोटको तल्लु बगरमा पुल निर्माण गरिएपछि अब सोझै डोल्पा जान सकिने स्थानीय झक्क केसीले बताए ।
निर्माणाधीन भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडक खण्डलाई जोड्ने पुल नहुँदा सोझै डोल्पासम्मको आवतजावतमा समस्या भैरहेको थियो । राप्ती लोकमार्गको थपिएको निर्माणाधीन नयाँ खण्डअन्तर्गत रुकुम पश्चिमको गोतामकोटदेखि छोटेबगरसम्मको सडक निर्माणका लागि आवश्यक पर्ने निर्माण सामग्री ओसार्न र यही स्थानमा निर्माणाधीन बेली ब्रिजका सामग्री पारी तार्नका लागि अस्थायी पुल बनाइएको सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख आशुतोष कर्णले बताए । करिब ३० लाखको लगानीमा ५८ वटा ह्युम पाइप राखेर पुलको निर्माण गरिएको कर्णको भनाइ छ ।
यस स्थलमा ३ करोड ८१ लाखको लागतमा बेली ब्रिज निर्माणको काम पनि भैरहेको छ । तर‚ पुलपारी रुकुम पश्चिमको गोतामकोट साइटमा बन्न लागेको सडककै लागि भनेर अस्थायी पुल बनाइएको हो । बेली ब्रिज बनाउनका लागि हिम सगरमाथा-खड्का कृष्ण जेभीले २०७८ पुसमा निर्माणको जिम्मा लिएको थियो । पुल निर्माण गत असारमै सकिनुपर्ने भए पनि नसकिँदा सात महिना म्याद थपेर अगामी माघको अन्तिमसम्म सक्नेगरी काम भैरहेको निर्माण कम्पनीका प्रतिनिधिले बताएका छन् ।
भेरी करिडोरअन्तर्गत जाजरकोट, रुकुम र डोल्पामा बन्नुपर्ने प्रायः सबै पुलको काम सकिए पनि भेरी नदीमा पुल नहुँदा यहाँबाट आवतजावत र आवश्यक सरसामान ओसार–पसार गर्न कठिन भैरहेको छ । यहाँ यसरी अस्थायी पुल बनाउनुभन्दा बेली ब्रिज समयमै बन्नुपर्ने डोल्पाबासीको माग छ ।
डोल्पाका राजेश चलाउनेले लाखौंको लगानीमा अस्थायी पुल बनाउनभन्दा निर्माणधीन पुलको काम समयमै सक्नुपर्ने कुरामा जोड दिए । पुल नै नहुनुभन्दा तत्काललाई अस्थायी भए पनि बनेकोमा आफूहरू खुसी भएको चलाउनेको भनाइ छ । कान्तिपुरबाट