काठमाडौंं। हुलाकी सडक आयोजनाअन्तर्गत सानाठूला गरी १३५ वटा पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएका छन्। कुल २५० वटा पुल निर्माण गर्नुपर्नेमा अहिलेसम्म १३५ वटाको निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेका हुन्।
६५ वटा पुल निर्माणाधीन छन् । बाँकी ५० वटाको निर्माण ठेक्का लाग्न बाँकी रहेको हुलाकी सडक निर्देशनालयले बताएको छ।
आर्थिक वर्ष २०७४/०७५ सम्म सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यसहित राष्ट्रिय गौरवका आयोजनामा समेत सूचीकृत यस राजमार्गको निर्माण कार्य आर्थिक वर्ष २०६३/०६४ मा सुरु गरिएको थियो । अहिलेसम्म उक्त राजमार्ग निर्माण शीर्षकमा भारत सरकारको छ अर्ब ३५ करोड रुपियाँ अनुदानसहित जम्मा ४६ अर्ब २८ करोड रुपियाँ विनियोजन भएकोमा अहिलेसम्मको कुल खर्च ५४ अर्ब रुपियाँ रहेको आयोजनाले बताएको छ। चालू आर्थिक वर्ष २०७९/०८० मा यस आयोजनाका लागि छ अर्ब ७२ करोड रुपियाँ विनियोजन गरिएको छ ।
चिठीपत्र आदानप्रदान गर्ने उद्देश्यसहित राणा शासनकालमा हुलाकी सडकको अवधारणामा यस राजमार्गको निर्माण अगाडि बढाइएको थियो । तराई–मधेशका २० वटा जिल्ला हुँदै निर्माण भइरहेको हुलाकी राजमार्गले त्यस क्षेत्रका ७५ प्रतिशत गाउँबस्तीलाई सडक सञ्जालसँग जोडेर झन्डै आधा जनसङ्ख्यालाई प्रत्यक्ष लाभ पुर्याउने छ।