काठमाडौं। चितवनको भरतपुर महानगरपालिकास्थित बसेनीमा रहेको १३२/११ केभी भरतपुर सबस्टेसनमा रहेका दुईवटै पावर ट्रान्सफर्मरहरू सञ्चालनमा आएका छन्। विद्युत् प्राधिकरणका अनुसार ट्रान्सफर्मरहरू पूर्ण रूपमा सञ्चालनमा आएपछि भरतपुर क्षेत्रमा रहेका उद्योगहरूलाई पनि आइतबार साँझबाट विद्युत आपूर्ति दिइएको छ।
सबस्टेसनमा रहेका दुई ट्रान्सफर्महरूमध्ये एउटामा १३ र अर्कोमा १६ कात्तिकमा समस्या आएको थियो। प्राधिकरणले बिग्रिएको ट्रान्सफर्मरलाई हटाएर सबस्टेसनमा जगेडामा रहेको २२.५ एमभीए क्षमताको ट्रान्सफर्मर जडान गरी बिहीबारबाट घरायसी ग्राहकका लागि विद्युत आपूर्ति दिएको थियो। एउटा ट्रान्सफर्मर जडान गरी ३६ घण्टापछि विद्युत आपूर्ति सुरु गरिएको थियो।
कास्कीको लेखनाथ सबस्टेसनमा रहेको २२.५ एमभीए क्षमताको ट्रान्सफर्मर ल्याई भरतपुर सबस्टेसनमा जडान गरी त्यसलाई पनि आइतबार साँझबाट सञ्चालनमा ल्याइएको प्राधिकरणले जारी गरेको प्रेस नोटमा उल्लेख छ। प्राधिकरणको वितरण तथा ग्राहक सेवा केन्द्र भरतपुरका प्रमुख राजीव कुमार सिंहका अनुसार सबस्टेसनको क्षमता अब ४५ एमभीए रहेकोले औद्योगिकसहितका सबै ग्राहकलाई विद्युत आपूर्तिको कुनै समस्या रहने छैन।
तिहारको समयमै भरतपुर क्षेत्रमा विद्युत आपूर्ति बन्द भएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठसहितको टोली मर्मत स्थलमा खटिएको थियो।