मलंगवा। मलंगवा नगरका नगरप्रमुखकै घरमा डोजर चलाएर सडकको अतिक्रमण हटाउन शुरु गरिएको छ। नगरप्रमुख नागेन्द्रप्रसाद यादवकै घरमा मंगलबार दिउँसो डोजर चलाई सडकभित्र पर्ने संरचना भत्काइएको हो।
स्थानीयले सडकको १५ मिटरभित्र पर्ने घर तथा अन्य संरचना भत्काउन आनाकानी गर्दा लामो समयदेखि सडक विस्तार ठप्प रहेको थियो।
मलंगवास्थित जिल्ला समन्वय समिति (साविक जिविस) चोकदेखि बसपार्कसम्मको सडक यसअघि नै १५ मिटर कायम गरी ढलान भइसकेको छ।
त्यहाँदेखि अगाडि भने घर भत्काउने क्रममा विवाद हुँदा काम रोकिएको थियो। नगरप्रमुख यादवले कृष्णामती माविदेखि नेपाल बैंक, पुरानो भन्सार कार्यालय हुँदै राजश्री सिनेमा हलसम्मको सडकमा पर्ने घर तथा अन्य संरचना भत्काउन दुईवटा डोजर प्रयोग गरिएको जानकारी दिए।
घर भत्काउन डोजर लगाइएपछि स्थानीयबाट हुन सक्ने अवरोधलाई मद्देनजर गरी ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।
सडकको ‘साइड क्लियर’ भएपछि ठेकेदारमार्फत सडक निर्माण अघि बढाइने नगरप्रमुख यादवले बताए। नगरप्रमुख यादवले हिजो दिउँसो नगरपालिका कार्यालयमा पत्रकार सम्मेलन गरी सडक निर्माणमा सहयोग गरिदिन सबैसँग आग्रह समेत गरेका छन्।
सदरमुकाम अनि त्यसमाथि जिल्लाकै निकै पुरानो र पहिलो नगरपालिका भएर पनि मलंगवाको सडक, नालालगायत अन्य क्षेत्रमा विकास हुन नसकेको भन्दै आलोचना हुने गरेको छ। जिविस चोकदेखि बसपार्कसम्मको सडक निर्माण पूरा हुँदा आवतजावतमा सहज भएको छ।