काठमाडौं। नारायणगढ–मुग्लिन सडकखण्ड आज र भोलि खुला गरिने भएको छ। पुल निर्माणका लागि गत पुष ५ गतेदेखि दैनिक ४ घण्टा बन्द हुँदै आएको सडकमा आज र भोलि सवारी चल्न दिइने भएको हो।
माघे संक्रान्ति मेला भर्न पवित्र तीर्थस्थल देवघाटमा भक्तजन टाढाटाढाबाट समेत आउने भएकाले सडक पूर्णरुपमा सञ्चालन गर्न लागिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ।
यस सडकमा पुल निर्माणका लागि भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा चार घण्टा बन्द गरिँदै आएको थियो।
गत पुस ५ गतेबाट ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम गरिँदै आएको छ।
सो आयोजना हेर्दै आएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) ले सवारी रोकेर काम गर्दा प्रभावकारी भइरहेको जनाएको छ। हालसम्म निर्माणाधीन पाँच पुलमध्ये तीन वटाको भित्तो काट्ने काम सकिएको छ।
सिमलताल, कालीखोला र नाम्ची खोलाको पुलको काम सकिएको हो । चिसेन्जी र तुइन खोलाको पुलको भित्तो काट्न बाँकी रहेको छ । तुइनको दायाँपट्टिको भित्तो ३० प्रतिशत मात्र काटिएको छ भने चिसेन्जीको ७० प्रतिशत काटिएको छ । देब्रेपट्टि दुवै पुलको ६५ प्रतिशत हाराहारी काटिएको छ ।