मुस्ताङ । मुस्ताङको एउटा गुम्बाको पुनर्निर्माण गर्न अमेरिकाले सहयोग गर्ने भएको छ । बौद्ध तथा हिन्दु दुवै धर्मावलम्बीको आस्थाको केन्द्र यस गुम्बाको पुनर्निर्माण गर्न अमेरिकाले करिब साढे ३ करोड रूपैयाँ सहयोग दिने भएको हो।
काठमाडौंस्थित अमेरिकी दूतावासले मराङ गाउँमा रहेको लो गेखर गुम्बाको जीर्णोद्धार र भूकम्पीय सुरक्षाका लागि नोर्बुसम फाउन्डेसनलाई सांस्कृतिक संरक्षणका निम्ति सहयोग गर्ने सोमबार सार्वजनिक गरेको हो।
दूतावासले राजदूत कोषबाट करिब ३ करोड ३९ लाख दिने जनाएको छ।संसारका सबैभन्दा पुराना तिब्बती बौद्ध मठमध्ये एक मानिने लो गेखर गुम्बामा ०७२ सालको भूकम्प र त्यसपछि जलवायु परिवर्तनका कारण ठूलो क्षति पुगेको थियो।