सोलुखुम्बु। सोलुखुम्बु सदरमुकाम सल्लेरीबाट सर्वोच्च शिखर सगरमाथा क्षेत्र जोड्ने सडक कालोपत्र गरिने भएको छ । सोलु दूधकुण्ड नगरपालिका केन्द्र सल्लेरीदेखि खुम्बु पासाङ ल्हामु गाउँपालिका जोड्ने सडक कालोपत्र गरीने भएको हो।
उक्त सडक निर्माणका लागि ६० करोड बराबरको टेन्डर आह्वान गरिएको छ। निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रममा छनोट भएको उक्त परियोजनाका लागि भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको सडक डिभिजन कार्यालय हर्कपुर ओखलढुंगाले कालोपत्रका लागि टेन्डर आह्वान गरेको हो । यसअघि उक्त नगरपालिकाले सेलगुडी डाँडासम्म र त्यसपछि माप्य दूधकोसी गाउँपालिकाले कच्ची सडक निर्माण गरेको थियो ।
सल्लेरी–सिलगुडीडाँडा–काँकु–बासा–ओर्लाङघाट–जुभिङ–खरिखोला–लुक्ला चौंरीखर्क सडक खण्ड कालोपत्रका लागि मन्त्रालयले बजेट व्यवस्था गरेसँगै सगरमाथालाई पक्की बाटोले जोड्ने निश्चित भएको हो । उक्त सडक पक्की गर्नका लागि नगरपालिका र तत्कालीन संघीय सांसद हेमकुमार राईले संयुक्त रूपमा पहल गरेका थिए ।
सल्लेरीसँग खुम्बु क्षेत्रलाई जोड्न ४ वर्ष अगाडिदेखि नै कोसिस गरिए पनि अब भने ठेक्का नै खोलिएकाले बाटो कालोपत्र हुने निश्चित भएको बताइएको छ।
हाल सल्लेरी–सेलगुडी हुँदै खरिखोलाको थामडाँडासम्म ६३ किलोमिटर कच्ची सडकमा यातायात सेवा सञ्चालनमा छ । कच्ची सडकमा सञ्चालन हुने बोलेरो जस्ता यातायातका साधनहरूले विदेशी पर्यटकबाट महँगो भाडा असुल्दै आएका छन् । लुक्ला विमानस्थल मौसम बिग्रनासाथ बन्द हुँदा यही सडक मार्ग खुम्बु प्रवेशको एक मात्र विकल्प हो । फाप्लु विमानस्थल प्रयोग गरी यहाँ आउने यात्रुहरू यही सडक खण्डबाट खुम्बु पुग्छन् ।