काठमाडौं। नेपाल एयरलाइन्सले आजदेखि हप्तामा एक दिन इलाममा उडान गर्ने भएको छ।
सातामा एउटा उडान गर्ने गरी इलाम नगरपालिका र नेपाल एयरलाइन्सबीच सहमति भएको छ। एक वर्षअघि करिब तीन महिना उडान भएर स्थगन भएको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा आजदेखि पुनः उडान हुने भएको हो।
अहिले केहीबेरमा काठमाडौँबाट उडान भर्ने तालिका रहेको नेपाल एरलाइन्सले जनाएको छ। इलाममा करिब ९ बजे पुग्ने र साढे नौ बजे काठमाडौँका लागि उड्ने तालिका निर्धारण भएको बताइएको छ। उडानसँगै इलाममा पर्यटकको सङ्ख्यामा वृद्धि हुने अपेक्षा लिएको बताइएको छ।
इलामबाट १९ सिट क्षमताको ट्वीनअटर जहाज सञ्चालन हुनेछ। इलामबाट काठमाडौँको एकतर्फी भाडा छ हजार तीन सय रुपैंया तोकिएको छ। काठमाडौँबाट इलामका लागि भने एकतर्फी भाडा छ हजार पाँच सय तोकिएको छ। तर एक उडानमा दुई जना ७० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई करबाहेकको रकममा ५० प्रतिशत भाडा छुट गरिएको छ।