नवलपरासी। पश्चिम नवलपरासीको सुस्तालाई नेपालतर्फको भूमिसँग जोड्ने गरी नारायणी नदीमा बन्न लागेको बहुप्रतीक्षित झोलुङ्गे पुलको निर्माण अन्तिम चरणमा पुगेको छ । निर्माण सुरु गरेको करिब १० वर्ष पछि पुल निर्माणको काम अन्तिम चरणमा पुगेको हो।
त्रिशूली/आश्रय जेभी नामको जोइन्ट भेन्चर कम्पनीले २०७० सालमा ठेक्का लिएर ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने सम्झौता गरेको थियो। तर पुल अन्तिम चरणमा पुग्न लगभग १० वर्ष समय लागेको छ। कहिले भारतले अवरोध गर्ने, कहिले ठेकेदार कम्पनी सम्पर्कविहीन हुने, कोभिड महामारीलगायतका कारण निर्माणमा ढिलाइ भएको बताइएको छ।
एक हजार ५५८ मिटर लम्बाइको यो पुलका १४ पिल्लरमध्ये १३ वटा निर्माण भइसकेको छ । अन्तिम पिल्लरको पाया बनाउने काम जारी छ । चौडा आकारमा बगेको नारायणी नदीमा पानीको बहाव ठूलो भएकाले पिल्लरका पाया निर्माणको काम अत्यन्त जोखिमपूर्ण थियो । नदीको मध्य भागमा पाया निर्माण गर्दा भारतीय पक्षसँग सहकार्य गरी पुल बन्न लागेको स्थानदेखि तीन किलोमिटर उत्तरमा भारतीय गण्डक नहरका ढोकाहरू बन्द गरी जमिनमुनिको काम गरिएको थियो ।
गत वर्ष भारतीय पक्षले बिनासूचना बाँधबाट पानी खोलिदिएका कारण पाया निर्माणको काम रोकिएको हो । विभिन्न अवरोधका कारण पुलको निर्माण दुई वर्षसम्म रोकिएको थियो । पछिल्लो एक वर्ष लगातार काम भएकाले पुल निर्माणले तीव्रता पाएको सुस्ता गाउँपालिकाले जनाएको छ।
नेपालकै सबैभन्दा लामो झोलुङ्गे पुलका रूपमा निर्माण हुन लागेको सुस्ता झोलुङ्गे पुल देशकै एउटा उदाहरणीय पर्यटकीय पुल बन्ने भएको छ ।