सप्तरी। सप्तरीको राजविराज – भारदह सडक खण्ड निर्माण गरिरहेको निर्माण कम्पनी भागेपछि १६ जना मजदुर अलपत्र परेका छन्। सडक डिभिजन कार्यालय लहान सिरहा अन्तर्गतको सडक निर्माण गरिरहेको निर्माण कम्पनी बेपत्ता भएको हो।
निर्माण कम्पनी बेपत्ता भएसँगै उक्त सडकको काम गरिरहेका दाङ र सल्यानका १६ जना मनदुर अलपत्र परेका छन्। अलपत्र मजदुरहरुले शनिबार बिहानदेखि प्रदर्शन गरिरहेका छन्। साह निर्माण सेवाले निर्माण गरिरहेको उक्त सडकमा ११ पुरुष र ५ महिला मजदुर थिए।
भोकभोकै बस्ने स्थिति आएपछि प्रदर्शन गर्नु परेको उनीहरुको भनाइ छ। उनीहरुले राजविराज–हनुमाननगर सडक अवरुद्ध समेत गरेका थिए। ती मजदुरहरुसँगै तोपाबजारका स्थानीय ब्यापारीहरुको समेत निर्माण कम्पनीका प्रतिनिधिहरुले रकम लिएर सम्पर्कबिहीन भएको भन्दै मजदुरसँगै स्थानीयहरु पनि प्रदर्शनमा उत्रिएका छन् ।
पछिल्लो १५ दिनदेखि निर्माण कम्पनीका प्रतिनिधि सम्पर्कबिहीन भएपछि ती मजदुरहरु छाक टार्न पनि समस्यामा परेको बताउँछन् । गत कात्तिक ८ गतेदेखि ती मजदुरहरु उक्त सडकमा काम गर्दै आएका थिए।