काठमाडौं। ताप्लेजुङमा सीता एयरले बुधवारदेखि काठमाडौं–ताप्लेजुङ–काठमाडौं र ताप्लेजुङ–भद्रपुर–ताप्लेजुङ उडान भर्ने भएको छ। ताप्लेजुङमा पर्यटक तथा तीर्थयात्रीहरूको चहलपहल बढ्ने समय भएसँगै उडान थप गरिएको हो।
सुकेटार विमानस्थलमा नेपाल एयरलाइन्स र सीता एयर गरी दुई कम्पनीले उडान गर्ने भएको छ।
सुकेटार विमानस्थलबाट साताको सोमवार, बुधवार र शुक्रवार गरी तीन दिन उडान गर्ने तालिका रहे पनि सीता एयरले बुधवार भने दुईपटक उडान गर्ने कार्यालयले बताएको छ। बुधवार ताप्लेजुङबाट झापाको भद्रपुर र काठमाडौंका लागि दुईपटक उडान हुने बताइएको छ।
यस्तै, हप्ताको चारपटक काठमाडौं–ताप्लेजुङ–काठमाडौं उडान गरिरहेको निमगको जहाजले पनि सातामा एकपटक ताप्लेजुङ–विराटनगर उडान गर्ने तयारी गरिहेको हो।
प्रदेश १ को राजधानीलाई लक्षित गरी कम्तीमा सातामा एक दिन ताप्लेजुङ–विराटनगर उडान गर्ने तालिका बनिरहेको छ। इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट समेत नेपाल वायु सेवा निमगको ट्वीनअटर जहाजले उडान भर्ने तालिकासँगै ताप्लेजुङ–विराटनगरको उडान तालिका पनि तय हुने बताइएको छ।
सीता एयरले ताप्लेजुङबाट भद्रपुरका लागि पाँच हजार तीन सय ८५ रुपैयाँ र काठमाडौंसम्मका लागि नौ हजार दुई सय ८५ रुपैयाँ भाडादर निर्धारण गरिएको छ।