काठमाडौं। नवनियुक्त शहरी विकासमन्त्री विक्रम पाण्डेले सबैभन्दा पहिला देशभरका तुइन विस्थापित गरेर झोलुङ्गे पुल बनाउने प्रतिबद्धता जनाएका छन्।
मंगलबार शहरी विकासमन्त्रीको शपथग्रहणपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री पाण्डेले नेपालको पश्चिममा खोलामा झोलुङ्गे पुल नहुँदा मानिसहरुको तुइनबाट खोला तर्दा खोलामा खसेर मुत्यु भइरहेको भन्दै सबैभन्दा पहिला मन्त्रालयले तुइन हटाएर झोलुङ्गे पुल बनाउने बताएका हुन्।
उनले तुइन हटाएर झोलुङ्गे पुल बनाउन नसक्ने मन्त्रालयको औचित्य नहुने पनि बताए। मन्त्री पाण्डेले अब नेपालको कालीगण्डी क्षेत्रमा हरेक आधाघण्टाको फरकमा झोलुङ्गे पुल निर्माण गरिने बताए।
उनले शहरी विकास मन्त्रालयले प्राथमिकताका आधारमा काम गर्ने बताए। मन्त्री पाण्डेले विकास निर्माणका काम के कारण रोकिएको छानबिन गरी भएका समस्या तत्काल समाधान गर्ने योजना रहेको बताए।
उनले भने, ‘तुइनबाट खेसेर मानिसहरुको मुत्यु भएको छ। त्यो काम यो मन्त्रालयले अहिलेसम्म पनि पूरा गर्न सक्दैन भने मन्त्रालयको स्थापना भएर काम छैन। त्यो काम सबैभन्दा पहिला पूरा गरिन्छ। त्यहाँ सबैभन्दा पहिला तुइन हटाएर झोलुङ्गे पुल बनाउनु काम पूरा गरिन्छ।’