चितवन। नारायणी नदी किनारमा फोहोर हालेर खाल्डाे पुरेपछि परेको मुद्दामा सर्वोच्च अदालतले फैसला सुनाएको छ। सर्वोच्चले नारायणी किनारमा पुरिएको प्लास्टिक र मलमूत्रजन्य फोहोर तुरुन्त निकाल्न अन्तरिम आदेश दिएको हो।
चितवन महोत्सव गर्नका लागि नारायणी नदी किनारको खाल्डोमा फोहोर हालेर पुरेपछि चर्को विरोध हुनुका साथै मुद्दा समेत परेको थियो।
फोहोरले नदी प्रदूषणका साथै त्यहाँ रहेका जलचर प्राणीलाई असर पर्ने, मानवलाई प्रत्यक्ष–अप्रत्यक्ष असर पर्ने भन्दै सर्वोच्चमा रिट परेको थियो । सर्वोच्चले दिएको आदेशमा नदी किनारमा फोहोर नफाल्न समेत भनिएको छ । १४औँ संस्करणको चितवन महोत्सव सकिएकै दिन बुधबार सर्वोच्चको लिखित आदेश सार्वजनिक भएको छ।
सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयविरुद्ध मुद्दाको अन्तिम किनारा नभएसम्म नारायणी नदीमा कुनै प्रकारको ढल मिसाउने कार्य नगर्न, डम्पिङ साइटमा विसर्जन गर्ने फोहोरमैला नदी किनारमा विसर्जन नगर्न, गर्न नदिन र उद्योग वाणिज्य सङ्घ चितवनले चितवन महोत्सव गर्न नारायणी नदीको किनारमा गाडेको फोहोर अविलम्ब निकाल्न लगाई नदी प्रदूषित हुने अन्य कुनै कार्य हुन नदिन अन्तरिम आदेश जारी गरेको छ ।
महोत्सव गर्न नदी किनारका खाल्डाहरूमा फोहोरले पुरेपछि बेटर चितवन, वे ग्रुप, हाम्रो दृष्टि राम्रो दृष्टि, नेपाल डेभलपमेन्ट सोसाइटीलगायत चितवनका विभिन्न संस्थाले उद्योग वाणिज्य सङ्घ र भरतपुर महानगरपालिकाविरुद्ध अन्दोलन गर्दै ‘सेभ नारायणी’ अभियान सञ्चालन समेत सञ्चालन गरिएको थियो।