काठमाडौं। भिजिविलिटी कम भएपछि त्रिभुवन विमानस्थलमा जहाजहरूलाई अवतरणमा समस्या भएको छ।
आज बिहान भिजिविलिटी कम भएकाले विभिन्न ठाउँबाट आएका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका जहाजहरू डाइभर्ट भएका छन्। केही जहाज भने धेरै समयसम्म आकाशमै होल्ड गरिएका छन्।
नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरणमा समस्या भएपछि त्रिभुवन झापाको भद्रपुर विमानस्थलमा अवतरण गर्न पुग्यो।
चार जना चालक दलका सदस्य र ५२ यात्रु बोकेको जहाज शुक्रबार बिहान नेपालगञ्ज विमानस्थलबाट साढे ७ बजे उडेको थियो। काठमाडौं विमानस्थलमा अवतरण गर्न भिजिबिलिटी नपुगेपछि जहाज भद्रपुर गएको बताइएको छ।
त्यसैगरी मलेसियाको क्वालालम्पुरबाट आएको नेपाल वायु सेवा निगमको जहाज पनि काठमाडौंमा अवतरण हुन नसकेपछि पश्चिम बंगालको कलकत्ता पुगेको छ। आरएनए ४१६ जहाज कलकत्ता पुगेको हो।