रुपन्देही। रुपन्देहीको तिलोत्तमामा रहेको पाँचतारे टाइगर प्यालेस रिसोर्टले सार्वजनिक जग्गा मिचेको ठहर गर्दै जिल्ला अदालत रूपन्देहीले जग्गा खाली गर्न आदेश दिएको छ।
जिल्ला अदालत रूपन्देहीका न्यायाधीश कृष्णमुरारी शिवाकोटीको एकल इजलासले सार्वजनिक जग्गा मिचेर संरचना निर्माण गरेकोले खाली गर्न भन्दै स्थानीयले दिएको निवेदन उपर बादी दाबी पुग्ने आदेश गरेको हो।
लुम्बिनी नलकुपजल उपभोक्ता संघ रुपन्देहीका अध्यक्ष थानेश्वर घिमिरेले र टेकराज पौडेलले टाइगर प्यालेस सञ्चालक कम्पनी सिल्भर हेरिटेज इन्भेष्टमेन्ट प्रा.लि विरुद्ध मुद्दा दायर गरेका थिए । सो मुद्दा फैसला भएको र पूर्णपाठ आउन बाँकी रहेको जिल्ला अदालत रुपन्देहीले जनाएको छ ।
उक्त रिसोर्टले तत्कालीन भैरहवा लुम्बिनी भूमिगत जल (भैलुभुज) परियोजनाको करिब २३ कठ्ठा सार्वजनिक जग्गा, राजकुलो तथा सार्वजनिक कुलो मिचेर संरचना बनाएको निवेदकहरूले दाबी गरेका थिए ।
हङकङको कम्पनी सिल्भर हेरिटेज इन्भेष्टमेन्ट प्रालिले तिलोत्तमा नगरपालिकाको कोटिहवामा ५ अर्ब रुपैयाँ लगानीमा सो रिसोर्ट संचालनमा ल्याएको थियो । २०७४ देखी संचालनमा आएको सो रिसोर्ट १५ बिगाह क्षेत्रफलमा फैलिएको छ ।