धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेशको समग्र विकासका लागि प्रदेश सभाले साझा थलोको रुपमा काम गर्ने बताएका छन्। प्रदेश सभा दिवसको अवसरमा शनिबार शुभकामना दिँदै मुख्यमन्त्री रावलले विकास कार्यमा प्रदेश सभाले साझा थलोको रुपमा काम गर्ने बताएका हुन्।
उनले स्वदेशी तथा विदेशी लगानीलाई सुरक्षा र आकर्षणको प्रत्याभूति गर्ने बताएका छन्। ‘गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, सुरक्षाजस्ता आधारभूत आवश्यकताको व्यवस्थालगायत प्रदेशको विविध सामाजिक, आर्थिक र भौतिक विकासका सबै प्राथमिक विषयमा प्रतिपक्ष दलहरुलाई समेत साथमा लिइ सामाजिक न्यायमा आधारित लोककल्याणकारी प्रदेशको रुपमा सुदूरपश्चिम प्रदेशलाई स्थापित गर्ने प्रतिवद्धता जाहेर गर्दछु’ मुख्यमन्त्रीले भने ।
मुख्यमन्त्री रावलले पार्टीगत सिद्धान्त र विषयगत प्राथमिकता फरक फरक भए पनि सुदूरपश्चिम प्रदेशको दिगो एवम् सर्वाङ्गीण विकासका विषयमा नेतृत्वकर्मी, जनप्रतिनिधि, सेवाग्राही तथा सरोकारवालाहरु एकजुट भइ हातेमालो गर्दै अगाडि बढ्नु समयको माग र प्रमुख आवश्यकता रहेको बताए।
२०७४ माघ ७ गते सुदूरपश्चिम प्रदेशको पहिलो प्रदेश सभाको स्थापना भएको थियो । प्रदेश सभाको कार्यकाल प्रारम्भ भएको ऐतिहासिक दिवस मनाइरहँदा सुदूरपश्चिम प्रदेशको स्थापना अभियानमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा अमूल्य योगदान दिने सबैप्रति मुख्यमन्त्री रावलले सम्मान प्रकट गरे।