काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाललाई थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन भारतसँग अनुरोध गरेका छन्।
सिंहदरबारस्थित मन्त्री कार्यकक्षमा शुक्रबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग भएको भेटवार्तामा मन्त्री किराँतीले थप हवाई रुट उपलब्ध गराउन माग गरेका हुन्।
मन्त्री किराँतीले सिमरामा रहेको नेपालको एक मात्र हवाई मार्गको अधिक चाप बढेको भन्दै थप हवाई प्रवेश मार्गका लागि अनुरोध गरेको उनको निजी सचिवालयले जनाएको छ ।
जवाफमा राजदूत श्रीवास्तवले नेपाली जनता र नेपालको हितमा भारत सधैँ सकारात्मक रहेको प्रतिक्रिया दिए । नेपालमा अहिले अन्तर्राष्ट्रिय उडानका विमान सिमरा बिन्दुबाट मात्र नेपाल प्रवेश गर्न पाउँछन् । नेपालले लामो समयदेखि भैरहवा, नेपालगञ्ज र महेन्द्रनगरबाट विमान प्रवेश गर्न सक्ने गरी रुट माग गर्दै आएको छ ।