काठमाडौं। उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनमा यात्रुमाथि सहचालकले गरेको दुर्व्यवहारका गुनासा बढेका छन्। उपत्यका ट्राफिक प्रहरी कार्यालयमा चालु आर्थिक वर्षको ६ महिनामा मात्रै १४८ दुर्व्यवहारका गुनासा दर्ता भएका हुन्।
गुनासो बढेपछि यात्रुका गुनासालाई सम्बोधन गर्न र व्यवहार सुधारका लागि सचेतना कार्यक्रम सुरु गरेको प्रहरीले जनाएको छ। पुसमा गरिएको सचेतना कार्यक्रममा दुई हजार तीन सय २१ चालक तथा सहचालक सहभागी भएका र यो क्रम अहिले पनि जारी रहेको जनाइएको छ ।
प्रहरीले चालक तथा परिचालकको आचरण तथा व्यवहार सुधारका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सार्वजनिक यातायात केन्द्रीय महासंघमा पत्राचारसमेत गरेको छ ।सार्वजनिक सवारी साधनमा यात्रुमाथि चालक–परिचालकबाट दुर्व्यवहार भएको भनी गुनासो बढेसँगै उक्त कार्यालयले सचेतना कार्यक्रमलाई पनि तीव्रता दिएको छ।
सार्वजनिक सवारी साधनमा यात्रा गर्दा चालक तथा परिचालकबाट दुर्व्यवहार भएमा प्रहरीको हटलाइन नम्बर १०० र १०३ मा खबर गर्न पनि प्रहरीले अनुरोध गरेको छ ।