काठमाडौं। कैलालीमा निर्माणाधीन दुई हुलाकी सडक स्तरोन्नति कार्य सुस्त गतिमा भइरहेको छ। ३० महिनामा सम्पन्न गर्ने लक्ष्य भएपनि १४ महिना अवधिमा १५ प्रतिशतमात्रै कार्य भएको हो। करिब आधा अवधि सकिदा पनि भौतिक प्रगति थोरै भएकाले सडक निर्माणले गति लिन सकेको छैन।
धनगढी–भजनी–सत्ति र लम्की–टीकापुर–खक्रौला निर्माण भएको सडकको चौडाइ बढाउन स्तरोन्नति हुँदैछ। तर ती सडकमा माटो भर्ने कामसमेत सकिएको छैन। बाँकी १६ महिनामा निर्माणकार्य सम्पन्न नहुने देखिएको आयोजना इन्जिनियर पदम मडै बताउँछन्। धनगढी–भजनी–सत्ति सडकमा समग्र प्रगति १५ प्रतिशत र लम्की–टीकापुर–खक्रौला १० प्रतिशत भएको छ।
लम्की–टीकापुर–खक्रौला सडकको लम्की क्षेत्रमा साढे दुई किलोमिटरको चार लेनको संरचनाको काम भने सकिन थालेको छ। आयोजनाका अनुसार त्यहाँ आगामी फागुन–चैतमा कालोपत्रे गर्ने काम भइसक्ने छ। लम्कीदेखि आठ किलोमिटर सडकमा माटो भर्ने काम ८० प्रतिशत सकिएको जनाउँदै आगामी असारसम्म कालोपत्रे सक्नेगरी काम भइरहेको मडैले बताए।
धनगढी–भजनी–सत्ति सडकमा क्याम्पस चोकदेखि सात किलोमिटरको पहिलो चरणमा तीन किलोमिटर दूरीमा मात्रै नाली बनेको छ भने एक किलोमिटर पर्खाल बनेको छ। यस खण्डमा माटोभर्ने काम ८० र अन्य संरचनाको काम ७० प्रतिशत सकिएको छ।
धनगढी–भजनी–सत्तिको धनगढीमा साढे तीन किलोमिटर र लम्की–टीकापुर–खक्रौलाको लम्की क्षेत्रमा साढे दुई किलोमिटर र टीकापुरमा तीन किलोमिटर सडकलाई चार लेनको बनाइँदैछ। धनगढी र लम्कीको चार लेनको काम समयमा सकिने गरी अगाडि बढेपनि टीकापुरको चार लेन सडकको काम सुस्त गतिमा भइरहेको हो।
६० किलोमिटरको धनगढी–भजनी–सत्ति र २९.७ किलोमिटरको लम्की–टीकापुर–खक्रौला सडक यस अघि ओटासिल प्रविधिबाट निर्माण गरिएको थियो। निर्माण सम्पन्न भएकै वर्षदेखि भत्किन थालेपछि अब अलकत्रा प्रविधिबाट निर्माण गरिने मडैले बता । दुवै सडकको लागत अनुमान दुई अर्ब रूपैयाँ छ।