म्याग्दी। कालीगण्डकी कोरिडोर अन्तर्गत बेनी–गलेश्वर सडक कालोपत्रका लागि शिलान्यास गरिएको छ। बेनी नगरपालिकाका मेयर सुरत केसीले शुक्रबार सडक कालोपत्रका लागि शिलान्यास गरेका हुन्।
शिलान्यासका क्रममा मेयर केसीले निर्माण व्यवसायीलाई तोकिएकै समयभित्र काम सम्पन्न गर्न निर्देशन दिए। उनले सडक स्तरोन्नतीका क्रममा आउने समस्या समाधानका लागि आफू समन्वय गर्न जुनसुकै बेला तयार रहेको प्रतिबद्धता समेत व्यक्त गरे।
सडक कालोपत्रेको जिम्मा जय धन्नजय/मंगलादेवी सुवास जेभी, मंगलादेवी सुवास कन्ट्रक्सन प्रा.लीले पाएको छ।
२ किलोमिटर १०२ मिटर सडक कालोपत्रे गर्नका लागि उक्त कम्पनीले भ्याट/पिएस सहित १२ करोड ७५ लाखमा ठेक्का लिएको हाे । ७२० दिनभित्र काम सम्पन्न गर्ने लक्ष्यसहित पुस १७ गते सम्झौता भएको छ।
सडक निर्माण कार्यमा बेनी नगरपालिका, प्रदेश सरकार, कालीगण्डकी कोरिडोर लगायतको साथ सहयोग भए तोकिएको मिति भन्दा अगावै काम सम्पन्न गर्ने निर्माण कम्पनीको प्रतिवद्धता छ।
सडक स्तरोन्नतीमा सम्झौता अनुसारको काम गुणस्तरीय र समयमै कालोपत्रे काम सम्पन्न गराउनका लागि आयोजनाले प्रभावकारी रुपमा अनुगमन, निरिक्षण र समन्वय गर्ने बेनी–जोमसोम–कोरला सडकका योजना प्रमुख जगत प्रजापतिले बताए।