सुर्खेत। सुर्खेतको पञ्चपुरी ११ कुइने र कैलालीको मोहन्याल ७ बडीगाउँमा रहेको कर्णाली नदीमाथि पक्की पुल निर्माण भएको छ। ३ सय मिटर लामो पुल ३२ करोड लागतमा निर्माण सम्पन्न भएको हो।
पक्की पुल बनेपछिसँगै कर्णाली प्रदेश र सुदूपश्चिम प्रदेश सडक सञ्जालमा जोडिएका छन् । पुल बनेपछि पश्चिमका नागरिकलाई जोखिम मोलेर कर्णाली नदी तर्नुपर्ने बाध्यता समेत हटेको छ । यसअघि सुदूरपश्चिमसँग जोडिएको सुर्खेतका पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकाका बासिन्दालाई कैलाली हुँदै भारतबाट आउने व्यापारिक सामग्री ढुवानी गर्न असहज हुने गरेको थियो ।
दुई प्रदेश जोड्न मोटरेबल पुल निर्माण भएपछि १४ किलोमिटर दूरीमा महेन्द्र राजमार्गको चिसापानी पुग्न सकिने भएको स्थानीयले बताए । पुल बनेपछि कर्णालीका १० वटै जिल्लाका नागरिकलाई भारत जान होस् वा व्यापार व्यवसायका लागि सहज हुने भएको छ।