फाइल तस्बिर
हुम्ला। दुई दिनदेखि लगातार परेको हिमपातका कारण चीनसँगको सीमावर्ती क्षेत्रको सिमकोट–हिल्सा सडकअन्तर्गतको यारी–हिल्सा सडक अवरुद्ध भएको छ। सडकमा तीन फिटभन्दा बढी हिउँ जमेपछि सडक बन्द भएको हो।
यस अघि गत असोज कात्तिकमा परेको हिउँ सडकमा जम्दा त्यसयता सो क्षेत्रमा सडक बन्द भएको थियो। उक्त सडकमा जमेको हिउँ गत पुस १७ र १८ गते नाम्खा गाउँपालिकाले डोजर लगाएर पन्छाएपछि साढे तीन महिनापछि सडक नियमित भएको थियो। सञ्चालन भएको दुई हप्तामै फेरि हिमपातका कारण यारी–हिल्सा क्षेत्रको सडक यातायात सेवा बन्द भएको छ।
४ हजार ६ सय मिटर अग्लो स्थानमा रहेको नारा लेक क्षेत्रको सडक हिउँले सेताम्मे भएपछि यातायात सेवा सञ्चालन हुन नसक्ने भएको छ। चीनले एकतर्फी नाका खुलाएपछि हिल्सामा व्यापारी प्रयोजनका लागि खाद्यान्न, लत्ताकपडा र विकास निर्माणको सामान हिल्सामा आयात भएको थियो। हिमपातले सडक बन्द भएपछि उक्त सामान हिल्सामै रोकिएको छ।