सिन्धुपाल्चोक। सुनकोशी गाउँपालिका वडा नम्बर ३ र ४ मा रहेको सियाले खोलामा झोलुङ्गे पुल निर्माण हुने भएको छ । ९६ मिटर लामो पुल निर्माण हुने भएको हो।
पुल नहुँदा वर्षामा दुवै वडाका स्थानीयलाई आवतजावत र खेतीपाती गर्न जान समस्या हुँदै आएको थियो । सुनकोशी गाउँपालिका र स्थानीय झोलुङ्गे पुल कार्यक्रम मार्फत उक्त खोला माथि ‘स्टील बिज्र’ निर्माण हुने भएपछि दुवै वडाका स्थानीय खुसी भएका छन् ।
चालु आर्थिक वर्ष भित्रै निर्माण सम्पन्न हुने झोलुङ्गे पुलको सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले शिलान्यास गरेका छन् । सुनकोशी ३ को पुरानागाउँ र ४ को भिरकुले बस्ती जोड्ने पुल जम्मा ९६ मिटर लामो हुने सुनकोशी गाउँपालिकाले जनाएको छ।
५६ लाख ७८ हजार १३७ रुपियाँको लागतमा निर्माण हुने झोलुङ्गे पुलका लागि आवश्यक पर्ने स्टील पार्टसको १५ लाख ४७ हजार ४८५ रुपियाँमा ठेक्का सम्झौता भएको छ । अन्य निर्माण कार्य भने उपभोक्ता समिति मार्फत हुने गाउँपालिकाले बताएको छ।
सुनकोशी गाउँपालिकाले चालु आर्थिक वर्ष भित्र कम्तीमा तीन वटा झोलुङ्गे पुल निर्माण सम्पन्न गर्ने गरी डिपीआर सकाएको छ । आगामी आर्थिक वर्ष भित्र पनि गाउँपालिकाको विभिन्न वडामा झोलुङ्गे पुल निर्माणका लागि गाउँपालिकाले डिपीआरको लागि तयारी गरेको छ ।