काठमाडौं। कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–७ कञ्जभोजको जोगबुढा नदीमा पक्की पुल निर्माण सम्पन्न भएको छ। सडक डिभिजन कार्यालय महेन्द्रनगरले ठेक्का प्रक्रियाद्वारा पुल निर्माण गरेको हो।
मित्र निर्माण सेवाले १६ करोड रुपैयाँको लागतमा पुल निर्माण गरेको छ। ४ वर्ष लगाएर निर्माण गरिएको पुलको लम्बाइ १७१ मिटर रहेछ।
पुल निर्माण नहुँदा स्थानीय वासिन्दाले निकै समस्या भोग्दै आएका थिए। नदी तर्नका लागि बनाइएको झोलुङ्गे पुल जीर्ण हुँदा आफ्नो ज्याननै जोखिममा राखेर स्थानीय वासिन्दाले नदी वारपार गर्दै आएका थिए। नदीमा पक्की पुल निर्माण भएपछि सहजरूपमा आजतजावत गर्न सकिने भएको वडाध्यक्ष ज्ञानेन्द्र बहेकले बताए।
पुल निर्माणले बालबालिकालाई नजिकैको विद्यालय र बजार जानका लागि सजिलो भएको छ,’ उनले भने, गाउँका वासिन्दा बिरामी परे एम्बुलेन्स समेत ल्याउन सकिने अवस्था थिएन। पुल निर्माणले घरसम्मै एम्बुलेन्स र अन्य सवारीसाधन आउजाउ गर्न सक्छन्। उनका अनुसार कञ्जभोज पुल निर्माणले नगरपालिकाका अन्य वडासँगको सडक सञ्जाल समेत जोडिएको छ। कञ्जभोज गाउँ भारतीय सीमासँगै जोडिएको छ।