पाल्पा। सडक चौडा गर्न दिउँसोको समयमा दिनुहँ सडक बन्द हुँदा दैनिक सयौं यात्रुले समयमा गन्तव्य पुग्न सकेका छैनन् । पाल्पा–गुल्मी सडकखण्ड अन्तर्गत तानसे–रिडी सडक गत मंसिरको तेस्रो सातादेखि दैनिक १४ घण्टा बढी बन्द हुने गरेको छ ।
सडक चौडा गर्न सडक डिभिजन कार्यालयको समन्वयमा निर्माण व्यवसायीले सडक बन्द गरेर काम गरेको छ । तीव्र गतिमा काम नगर्दा दुई महिनादेखि सडकमा यात्रा गर्ने यात्रुले समयमा गन्तव्यमा पुग्न नसकेको गुनासो गरेका छन् । दैनिक कम्तीमा १४ घण्टा सडक बन्द हुँदा पाल्पा, गुल्मी, अर्घाखाँची, बाग्लुङसम्मका सवारी साधन र यात्रुले सास्ती बेहोर्नु परेको हो ।
‘समयमा पुग्न नसक्दा धेरै समस्या हुन्छ,’ बाग्लुङ अधिकारीचौरबाट बुटवल जाने यात्रु देवका अधिकारीले भनिन्, ‘एक महिना आउँदा पनि चार घण्टा सडकमै बस्नु परेको थियो । अहिले पनि उही अवस्था रहेछ । कहिले हो यो सडक बन्ने ’ उनका अनुसार समयमा बुटवल पुग्न नसक्दा गन्तव्यसम्म पुग्ने अर्को सवारी साधन पाउन सकिदैन । आफन्तकोमा पुग्दा राति अबेर हुन्छ । यस्ता समस्यालाई ख्याल गर्नुपर्ने उनले सुझाइन् ।
उनी मात्र होइन गुल्मीको आँपचौरका रमेश अर्याल पनि बुटवल पुगेर पश्चिम जानुपर्ने छ । तर बेलुकी भइसक्दा पनि बाटोमै बस्नु परेकाले समस्या आउने चिन्तामा थिए । ‘बेलुकी भइसक्यो गएर गन्तव्य पुग्न समस्या हुने भयो,’ उनले भने, ‘समस्या समाधान छिटो गर्नुपर्छ । दिउँसोमा सकेसम्म नरोके हुन्थ्यो भन्नेलाग्छ ।’ दिउँसोको समयमा लामो समय सडक बन्द हुँदा पहाडबाट तराई र तराईबाट पहाड उक्लेकाहरुका लागि समस्या हुने यात्रुको गुनासो छ ।
यस सडकखण्ड बन्द हुँदा सवारी साधन वैकल्पिक सडकको प्रयोग गर्न सडक डिभिजनले अनुरोध गरेको छ । तर जोर्ते, लुहुङ हुँदै तानसेनको बतासेडाँडाबाट आवतजावत गर्न समस्या छ । सडक अप्ठेरो भएकाले यहाँबाट सवारी साधन ओहोरदोहोर गर्न मान्दैनन् । जीप, बसलगायत साना सवारी साधन दुर्घटना भएपछि झन् उक्त सडक प्रयोग गर्न मान्दैनन् । ‘सडक राम्रो भए हुन्थ्यो,’ गुल्मी गौंडाकोटका मोटरसाइकल चालक जयन्त खत्रीले भने, ‘उकालो, धुलो, खाल्डाखुल्डी भएकाले साना सवारी साधन सञ्चालन गर्न समस्या छ ।’
सडक डिभिजनले दुई वर्षअघि र यसैवर्ष लागेको ठेक्काको काम गराउन मंसिरको तेस्रो सातादेखि दैनिक १४ घण्टा बन्द गरेर काम गराएको छ । सडक डिभिजन प्रमुख प्रदीपमणी निरौलाले पाल्पा–गुल्मी सडक खण्डको मालमुल–जोर्ते–रिडी सडकखण्ड चौडा गर्ने कामको बन्द गर्ने समय पुनरावलोकन हुने बताए । उनले फागुन ९ गतेसम्म दैनिक १२ घण्टा बन्द गर्ने सूचना पठाए पनि जिल्ला प्रशासन कार्यालयको समन्वयमा समयमा हेरफेर हुने बताए । ‘यात्रुको समस्यालाई बुझेका छौं, ’ उनले भने, ‘अब बिहान ५ बजेदेखि ९ र बेलुकी ७ देखि १० बजेसम्म बन्द गरेर काम गराउने भन्ने भएको छ ।’
एक महिनामा तोकिएको सडक चौडा तथा मर्मत कार्य सम्पन्न हुने सडक डिभिजन प्रमुख निरौलाले बताए । ‘तोकिएको समयमा ठेकेदारले काम सम्पन्न गर्नसक्छ भन्ने हो,’ उनले भने । निर्माण व्यवसायीले समयमा काम सम्पन्न नगरेकाले सडक डिभिजनले दैनिक सडक बन्द हुने सूचना जारी थप्दै लगेको छ । हरेक १५ दिनको म्याद थप्दै लगेकाले यस भेगमा यात्रा गर्ने यात्रुले सास्ती खेप्दै आएका छन् ।
अघिल्लो वर्ष लगाएको ठेक्काको काम समयमा सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई सडक बन्द गरेर भएपनि काम गराएको सडक डिभिजनले जनाएको छ । जोर्ते भीर आसपास क्षेत्रमा दुई वर्ष अघि लागेको ठेक्काको काम अझै सकिएको छैन । मालमूल क्षेत्रमा भने यसैवर्ष ठेक्का लागेको हो । मुख्य निर्माण व्यवसायीले काम नगर्ने र दोस्रो व्यक्तिलाई काम दिँदा पनि समस्या भएको हो । सडक डिभिजन प्रमुख निरौलाले मुख्य निर्माण व्यवसायीलाई बोलाएर छलफल गरिएको बताए ।
जोर्ते क्षेत्रमा प्रदीप साइज जेभी बुटवलले दुई वर्षअघि लिएको ठेक्काको काम समयमा सम्पन्न गरेको छैन । झण्डै २ करोडमा लिएको ठेक्का दोस्रो, तेस्रो व्यक्तिलाई काम गराउने, ढुंगा बिक्रीमा ध्यान दिने गर्दा नै काममा ढिलाई भएको हो । प्रदीप साइन जेभीले कटानको काम गर्ने भन्दा बढी ढुंगा बिक्री गर्ने आशयले काम गरेकाले काममा ढिलाई भएको स्थानीयले गुनासो गर्दै आएका छन् ।
रिब्दीकोट गाउँपालिका–३, मालमुल क्षेत्रमा कामको ठेक्का लिएको दर्शन–वीएण्डबी जेभीले एक किलोमिटर सडक चौडा गर्ने, दुई किलोमिटर कालोपत्रे गर्ने र नाली निर्माणको काम लिएको छ । ४ करोड ठेक्का भएपनि घटेर ३ करोड २९ लाखमा ठेक्का लिएको छ । यस्तै यही क्षेत्रमा अधिकारी–कार्की जेभीले ४ किलोमिटिर सडक कालोपत्रे, चौडा गर्ने लगायतका कामका लागि ४ करोड ५० लाखको काम भइरहेको छ । कान्तिपुरबाट