गाईघाट। गाईघाट। उदयपुरको सदरमुकाम जोड्ने गाईघाट–फत्तेपुर धुले सडकको कालोपत्रे गर्न सुरु गरिएको छ। । उक्त सडकको मोतीगढा–जोगीदह–रुपनी खण्डमा दुई लेन बनाएर कालोपत्रे गर्ने कार्य सुरु गरिएको हो।
त्रियुगा नगरपालिका वडा नं. १, २ र ३ तथा चौदण्डीगढी नगरपालिकाको वडा नं. १०, ९ र ५ को सुन्दरपुर हुँदै सप्तरीको फत्तेपुर जोड्ने ३० किलोमिटर लामो सो सडकअन्तर्गत मोतीगढा–रुपनीसम्म करिब १२ किमि लामो सडक यसै वर्ष काम सम्पन्न हुने दाबी गरिएको हो।
डिभिजन सडक कार्यालय लहानका अनुसार नेपाल सरकारको निर्वाचन क्षेत्र रणनीतिक सडक योजनाअनुसार सङ्घीय संसद्को एउटा निर्वाचन क्षेत्रमा कम्तीमा २५ र बढीमा ४० करोड रुपियाँसम्मको लागतमा सडक निर्माण गर्ने कार्यक्रम रहेको छ। सोही कार्यक्रमअनुसार उदयपुरको निर्वाचन क्षेत्र नं. १ मा पर्ने सदरमुकाम गाईघाट जोड्ने गाईघाट–फत्तेपुर सडकअन्तर्गतको मोतीगढा–जोगीदह खण्ड कालोपत्रे गर्न लागिएको हो।
सडकको स्तरोन्नतिसँगै चौडा पार्ने र दायाँबायाँ नाली निर्माणसहित सो क्षेत्रमा पर्ने पाँचवटा ठूला तथा १७ वटा साना गरी २२ वटा कल्भर्ट बनाउनुपर्नेमा अहिलेसम्म २१ वटा कल्भर्ट निर्माण सम्पन्न भइसकेको बताइएको छ।
उक्त सडक निर्माणसँगै सदरमुकासम्म सरकारी कामकाजमा आउने सेवाग्राही, गर्भवती महिला, सुत्केरी र अन्य कतिपय आकस्मिक उपचारका लागि अस्पतालमा लैजानुपर्ने बिरामीलाई ल्याउन लैजान सहज हुने विश्वास गरिएको छ।