बारा। आगामी अङ्ग्रेजी नयाँ वर्षमा पाइपलाइनमार्फत पेट्रोल ल्याउने गरी दोस्रो चरणको पाइपलाइन परियोजनाअन्तर्गत भर्टिकल ट्याङ्कहरुको निर्माण सुरु गरिएकाे छ । नेपाल आयल निगमको मधेश प्रादेशिक कार्यालयअन्तर्गत बाराको अमलेखगञ्जस्थित डिपोमा पेट्रोल र ट्रान्समिक्स ट्यांकको गत मंसिर २९ गते शिलान्यास गरी निर्माण शुरु भएको हो।
निगमले मोतीहारी–अमलेखगञ्ज पाइपलाइनमार्फत २०७६ भदौदेखि डिजेल आयात गरिरहेको छ। मोतीहारी–अमलेखगञ्ज पाइपलाइन परियोजना डिजेल र पेट्रोल दुवै ल्याउने भए पनि पेट्रोल भण्डार गर्न ट्यांकी नहुँदा डिजेलमात्र आयात भइरहेको थियो। अमलेखगञ्ज डिपोका प्रमुख प्रदीपकुमार यादवले अंग्रेजी नयाँ वर्षमा पाइपलाइनमार्फत पेट्रोल ल्याउने गरी भर्टिकल ट्यांक निर्माणका सबै तयारी पूरा गरी बनाउन शुरुवात गरिएको बताए।
उनले दोस्रो चरणको योजना निर्माणका लागि नेपाल आयल निगम र भारतीय आयल कर्पोरेशनले संयुक्त लगानी गर्ने गरी सम्झौता भएर काम अगाडि बढेको बताए। उनले दुई वटा पेट्रोल ट्यांकमध्ये निगम र आइओसीले १/१ वटा ट्यांकको लागत बेहोर्ने जानकारी दिए।
प्रमुख यादवले पेट्रोल र डिजेल दुवै हुनसक्ने मिश्रित इन्धन राख्नका लागि २ वटा ट्रान्समिक्स ट्यांक र डिपोभित्रको सुरक्षाका लागि ३ हजार किलोलिटर क्षमताको फायरवाटर ट्यांक भारतीय पक्षले निर्माण गरिदिने बताए।
उनले निगमले करिब ७५ करोड भारतीय रूपैयाँ खर्च गर्ने अनुमान गरिएको बताए। उनका अनुसार निगमले एउटा पेट्रोल ट्यांक, २४ वटा रिफिलर, प्रयोगशाला, फायरफाइटिङ सिस्टम, ओडब्ल्युएस र पिएमसिसी कक्षको निर्माण गरिनेछ। उनले निगमको १ अर्ब ५४ करोड भारतीय रूपैयाँ बराबर खर्च हुने अनुमान गरिएको पनि बताए।