तनहुँ। तनहुँको ऋषिङ गाउँपालिका–१, झापुटारस्थित तनहुँ जलविद्युत् आयोजनाले विद्यालयको भवन निर्माण गर्न सुरु गरेको छ। आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत प्रभावित क्षेत्रमा विद्यालय भवन निर्माण गर्न लागेको हो।
व्यास नगरपालिका–५, बेनीपाटनमा रहेको पराशर माध्यमिक विद्यालयमा आठकोठा भएको दुईतले भवन आयोजनाले आफ्नो खर्चमा निर्माण गर्न सुरु गरेको छ।
व्यास नगरपालिकाले उपलब्ध गराएको जग्गामा विद्यालयले भवन बनाउन सुरु गरेको हो। व्यास नगरपालिकाका प्रमुख वैकुण्ठनाथ न्यौपानेले बिहीबार श्रीपञ्चमीका दिन भवनको शिलान्यास गरेका छन्।
शिलान्यासका क्रममा न्यौपानेले पठनपाठनलाई भौतिक पूर्वाधार विकासले सकारात्मक सहयोग गर्ने बताए। उनले नयाँ भवन निर्माणले पाटन क्षेत्रको पिछडिएका आदिवासी वर्ग तथा जनजातिका बालबालिकालाई गुणस्तरीय शिक्षाबाट लाभान्वित हुन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
भवन निर्माणका लागि आयोजना र निर्माण व्यवसायी ऐञ्जल पारस जेभीबीच एक करोड ३८ लाख २४ हजार रुपियाँमा ठेक्का सम्झौता भएको छ।