गोरखा । सशस्त्र जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलको स्मृतिमा पार्क निर्माण गर्न शुरु गरिएको छ । वारपाक सुलिकोट गाउँपालिका ८ मा आगामी फागुन १५ गतेसम्ममा सम्पन्न गर्ने गरी निर्माण कार्य शुरु गरिएको हो ।
पार्क निर्माणका लागि तीन करोड ३७ लाख २५ हजार रुपैयाँमा ओम सत्य साई कन्ट्रक्शन चितवनसँग ठेक्का सम्झौता भएर काम शुरु भइसकेको छ ।
केही वर्ष पहिले नै पार्क निर्माणको प्रक्रिया अघि बढाइए पनि कार्यान्वयन हुन सकेको थिएन । गाउँपालिका र सङ्घीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको लागत साझेदारीमा पार्क निर्माण हुने भएको हो ।
मन्त्रालयले पर्यटन पूर्वाधार निर्माण तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रम अन्तर्गत पार्क निर्माणका लागि साढे तीन करोड र पालिकाले डेढ करोड रुपैयाँ छुट्याएका थिए । पार्कमा झन्डै ८० जना अट्ने सभा हल सहितका संरचना निर्माण हुने बताइएको छ ।
यस्तै करिडोरमा घुम्दै अवलोकन गर्न सकिने गरी सङ्ग्रहालय बनाइने छ । जनयुद्धमा तयार भएका दस्तावेज, तस्बिर लगायतका सामग्री सङ्ग्रहालयमा राखिने बताइएको छ । पार्क परिसरमा भने रम्तेलको सालिकसहित बगैँचा निर्माण हुनेछ ।