काठमाडौं। बाँकेको खजुरा गाउँपालिकामा रहेको नेपालगन्ज–गुलरिया सडक ठेक्का लिएको पाँच वर्षसम्म पनि पूरा हुन सकेको छैन। एक हजार आठ सय मिटर सडक पाँच वर्षमा पनि पूरा हुन नसकेको हो।
रु. २१ करोड ४९ लाखमा चार लेन सडक निर्माणको जिम्मा ०७४ वैशाखमा गजुरमुखी निर्माण सेवा इलामले पाएको थियो। समयमा काम नहुँदा दुख पाएको स्थानीयका भनाइ छ। सम्झौताअनुसार निर्माण कम्पनीले जिल्लाको इलाका प्रहरी कार्यालय धनौलीदेखि १ नम्बर बजारसम्मको चार लेन सडक निर्माण गर्नुपर्ने थियो।
कम्पनीले सम्झौता भएको ३० महिनामा काम सक्ने लिखित प्रतिबद्धता जनाए पनि पाँच वर्ष सम्म सडक पुरा भएको छैन। सडक निर्माणको माग गर्दै स्थानीयले पटक–पटक आन्दोलन गर्दै आएका स्थानीयले बताए।
सडक डिभिजन कार्यालय नेपालगन्जले निर्माण ढिलाइ भए पनि ९० प्रतिशत काम पूरा भएको बताएको छ। यो वर्षसम्म पनि काम पूरा नभए ठेकेदार कम्पनीलाई कारबाहीस्वरूप कालोसूचीमा राखिने बताइएको छ।