गोरखा। गोरखाको हिनाङ पुङ्जे गुम्बा पुनर्निर्माण गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जनप्रतिनिधि र नेताहरूले माग गरेका छन्।
आगोलागीबाट क्षति भएको चुमनुब्री गाउँपालिका २ ल्हो गाउँमा रहेको गुम्बा पुनर्निर्माण गर्न माग गरिएको हो।
गुम्बामा गत माघ १० गते आगलागी भएको थियो। आगलागीबाट गुम्बा जलेर नष्ट भएको थियो भने करोडौंको क्षति भएको अनुमान गरिएको छ।
करिब दुई सय वर्ष पुरानो गुम्बा आगलागीबाट क्षति भएकोले पुनर्निर्माणमा सहयोग गरिदिन प्रधानमन्त्री प्रचण्डसँग माग गरिएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले बताए।
गुम्बा आगलागी भएपछि निरीक्षणका लागि गण्डकी प्रदेशका सांसद नन्दप्रसाद न्यौपाने र गोरखाका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुख माघ ११ मा ल्हो पुगेर फर्केका थिए। उनीहरूले पनि गुम्बा पुनर्निर्माण गर्न गण्डकी प्रदेश सरकार र संघीय सरकारसँग पहल गरिने बताएका थिए।