काठमाडौं। ट्राफिक प्रहरीले नियम उल्लंघन गर्ने २ सय ५९ वटा सवारी लाइसेन्स निलम्बन गर्न यातायात व्यवस्था विभागमा पठाएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ५ पटकभन्दा बढी ट्राफिक नियम उल्लंघन गर्ने २ सय ५९ जनाको लाइसेन्स निलम्बन गर्न यातायात व्यवस्था विभाग मिनभवनमा पठाएको हो।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नु पर्ने सर्त तथा नियमहरू पाँच पटकभन्दा बढी उल्लंघन गरेको पाइएकाले सोही ऐनको परिच्छेद ४ को दफा ६० बमोजिमको कसुर गरेको हुँदा निलम्बन गर्न पठाइएको हो।
निलम्बन गर्न पठाइएका सवारी चालकले ३६ पटक सम्म नियम उल्लंघन गरेको पाइएको बताइएको छ।
ट्राफिकले ३६, ३०, २८, १९, १८, १७ पटक नियम उल्लंघन गर्नेलाई निलम्बन गर्न पठाएको हो। यस्तै प्रहरीले ९, ७, ६ पटक नियम उल्लंघन गर्नेहरूको पनि लाइसेन्स निलम्बन गर्न पठाएको छ।