तनहुँ। तनहुँ जलविद्युत् आयोजनाको प्याकेज दुईअन्तर्गतको काम ५५ प्रतिशत पूरा भएको छ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको आयोजनाको प्याकेज दुईअन्तर्गतको काम आधाभन्दा बढी सम्पन्न भएको हो।
हालसम्म उक्त प्याकेजमा ६ अर्ब ३९ करोड ७० लाख ५६ हजार रुपैयाँ खर्च भएको तनहुँ हाइड्रोपावर लिमिटेडले जनाएको छ।
प्याकेज २ निर्माणका लागि सिनो हाइड्रो कर्पोरेशनसँग २०७५ साल असोज १५ मा ३ अर्ब ८३ करोड १३ लाख ६० हजार रुपैयाँमा खरिद सम्झौता भएपछि २०७५ माघ ६ देखि निर्माण सुरु गरेको थियो ।
आयोजनाका अनुसार ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ५१ मिटर उचाइ भएको भूमिगत विद्युत्गृह खन्ने काम असार १० मा सम्पन्न भएको छ । मङ्सिर मसान्तसम्म यस कार्यअन्तर्गतका सम्पूर्ण विद्युत्गृह खन्ने काम सम्पन्न भई कङ्क्रिटको काम पनि सम्पन्न भइसकेका छन् ।
आयोजनाको १ हजार चार सय ५६ दहमलव नौ मिटर लामो मुख्य सुरुङ २०७८ साल कात्तिकदेखि खन्न सुरु गरेकोमा मङ्सिर मसान्तसम्म छ सय ८० मिटर काम सकिएको छ । दुई सय १० दशमलव नौ मिटर टेलरेस सुरुङ २०७७ फागुन २९ देखि काम सुरु गरेको थियो । हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिल कार्यअन्तर्गत पेनस्टक जडानको काम पनि सकिएको छ ।