रुपन्देही। बुटवलको बुद्धनगरदेखि नहरपुर जोड्ने सडक निर्माणको लागि शिलान्यास गरिएको छ। बुद्धनगरमा एक कार्यक्रमका बीच नगर प्रमुख खेलराज पाण्डेयले सडकको शिलान्यास गरेका हुन्।
बुटवल ११ बुद्धनगर तिनाउ पुलदेखि नहरपुर झोलुङ्गे पुलसम्मको सडक विस्तार तथा कालोपत्रे गरिने भएको हो।
सडकको शिलान्यास गर्दै प्रमुख पाण्डेयले बुद्धनगरदेखि नहरपुरसम्मको सडक विस्तारका क्रममा स्थानीयलाई साथमा लिएर काम अघि बढाउने बताए । उनले स्थानीयलाई लाभ हुने र पूर्वपश्चिम राजमार्गको तिनाउ पुल निर्माणको काम सुरु भएपछि वैकल्पिक सडकका रूपमा प्रयोग हुने गरी सडक विस्तार गर्न लागिएको बताए ।
कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले समयमै काम सम्पन्न गर्न स्थानीयले साथ दिनुपर्ने र नियमित रूपमा अनुगमन गर्ने बताइन् । प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बुटवल उपमहानगरपालिकाका भित्री सडकहरुको स्तरोन्नति र निर्माणको काम सुरु भएको र यसले निरन्तरता पाउने बताए । २ करोड ६० लाख ६५ हजार लागतमा ठेक्का सम्झौता भएको सडक आगामी जेठ १५ भित्र सम्पन्न गर्ने गरी थापा दास जेभी बुटवलले ठेक्का पाएको छ ।