काठमाण्डौं। त्रिपुरासुन्दरी नगरपालिकाले विभिन्न वडाका २८० घरधुरीलाई निःशुल्क सोलार वितरण गरेको छ। वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्र काठमाडौँको सहयोगमा नगरपालिकाले वडा नं १ का ४०, वडा नं २ का ७१, वडा नं ३ का ३५, वडा नं ४ का ३५, वडा नं ७ का ४०, वडा नं ८ का ३५ घरधुरीलाई सोलार वितरण गरेको हो।
कार्यवाहक नगरप्रमुख चन्द्राकुमारी बुढाका रोहबरमा ८० वाटको सोलार, ब्याट्री, तार, वल्बलगायत सामान निःशुल्क वितरण गरिएको सौर्य इनर्जी डोल्पाका प्रतिनिधि लिलराज रोकायले जानकारीदिए। डोल्पासम्म सिधा यातायातको सुविधा नहुँदा वर्षाको समयमा एक दर्जन भन्दा बढी ठाउँमा गाडी परिवर्तन गर्दै अनेक दुःख कष्ट झेलेर सोलार ढुवानी गर्न सफल भएको उनको भनाइ छ।
जाजरकोटसम्म ढुवानी गर्न सजिलो छ, त्यहाँदेखि डोल्पासम्म पुग्न बीचबीचमा नदी र खोलामा पुल छैनन्। दर्जन भन्दा बढी ठाउँमा गाडी परिवर्तन गर्दा ढुवानीमा घाटा व्यहोर्नुपर्ने गुनासो उनले गरे। दैनिक घण्टौँ लोडसेडिङको मारले अन्धकारमै आफ्नो जीवन गुजारा गरिरहेका ग्रामीण गाउँका नागरिक सोलार पाएपछि खुसी छन्।