काठमाडौं। उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई यातायात सम्बद्ध विभिन्न तीनवटा मजदुर संघ र संगठनले ज्ञापनपत्र बुझाएका छन्।
मजदुर संघरसंगठनले यातायात सम्बद्ध सरकारी संरचनाहरू ऐन विपरित चल्नाले सार्वजनिक यातायात अस्तव्यस्त भएको र सडकमा राज्य आतंक सिर्जना गरिएको भन्दै समाधानको लागि ज्ञापनपत्र बुझाउन आएको बताएका छन्।
ज्ञापनपत्रमा ऐन विपरित लाइसेन्स निलम्बन गर्ने गरिएको र मनखुशी जरिवाना असुल गर्ने गरिएको, प्रदुषण जाँचको वैज्ञानिक मापदण्ड नभएको, सीमानाकामा ढुवानी क्रममा सास्ती भोग्नुपरेको जस्ता समस्या उल्लेख छन्।
मजदुर हितका लागि बिद्यमान ऐन कानुन परिमार्जन गर्नुपर्ने, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गर्नुपर्ने तथा त्यसका लागि राष्ट्रिय यातायात प्राधिकरण, रोड सेफ्टी काउन्सिल र यातायात क्षेत्र सुधार आयोग गठन गर्नुपर्ने माग ज्ञापनपत्रमा छ।
ज्ञापनपत्र बुझ्दै मन्त्री श्रेष्ठले मागहरूबारे आफ्नो ध्यानाकर्षण भएको, सार्वजनिक यातायातका क्षेत्रमा कयौं नीतिगत एव व्यहारिक सुधारको शुरूवात भैसकेको र त्यसलाई प्रभावकारी बनाउन आफू क्रियाशील रहेको बताए ।