काठमाडौं। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशबारीमा महेशबारी उद्यान निर्माण सुरु गरिएको छ। उक्त स्थानमा टुरिज्म एण्ड सिमसार उद्यान निर्माण गर्न सुरु गरिएको हो।
राष्ट्रिय योजना आयोग र गाउँपालिकाको साझेदारीमा रु तीन करोड नौ लाख ६० हजारको लागतमा उक्त उद्यान निर्माण गर्न लागिएको गाउँपालिकाले जनाएको छ।
सिमसार क्षेत्र संरक्षण गर्ने उद्देश्यका साथ उद्यान निर्माण गर्न लागिएको हो। गाउँपालिकाको मातहतमा रहेको करिब १४ कठ्ठा क्षेत्रफलमा उद्यानका विभिन्न संरचना निर्माण गर्न लागिएको छ।
उद्यान बनेपछि गाउँमा रौनकता थप्ने र आर्थिक गतिविधि बढ्ने स्थानीयले बताए। यसै उक्त उद्यान निर्माणपछि आन्तरिक पर्यटकको चहलपहल बढ्ने आशा गरिएको बताइएको छ।