गोरखा। गोरखाको गण्डकी गाउँपालिकाले साना योजनामा बजेट घटाउन प्रत्येक वडाले कम्तीमा ५० लाख रुपैयाँको एउटा योजना अनिवार्य छनोट गर्नुपर्ने नियम बनाएको छ ।
साना–साना योजनामा भएको खर्च परिणाममुखी नभएकाले ठूला योजना छनोट अनिवार्य गरिएको हो।
गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिनाले भने, ‘गत सालको बजेट किताब हेर्दा पालिकामा ७ सय ३६ योजना रहेछन्, त्यसमा पनि अधिकांश टुक्रे। अहिले हामीले घटाएर ४ सय ८६ वटा योजना मात्र बनाएका छौ।’
धेरै योजनामा रकम छुट्याउँदा त्यस्ता काम दिगो र परिणाममुखी नहुने भएकाले साना साना योजना घटाउन थालेको उनको भनाइ छ।
गण्डकी गाउँपालिकामा ८ वटा वडा छ । यस वर्ष प्रत्येक वडालाई एक करोड १० देखि ३५ लाख रुपैयाँसम्म रकम विनियोजन गरिएको छ । उक्त रकममध्ये कम्तीमा एउटा योजना ५० लाख रुपैयाँको योजनामा खर्च गर्नुपर्नेछ ।