दोलखा। दोलखाको कालिन्चोक गाउँपालिकामा आगोलागी हुँदा ९ वटा घर जलेर नष्ट भएका छन्। गएराति कालिन्चोक–९ कटुवाचौर बजारमा भीषण आगोलागी हुँदा ९ वटा घर पूर्ण रुपमा जलेर नष्ट भएका हुन्।
आगोलागीबाट बजार क्षेत्रमा रहेको सन्तोष सेढाईं, दुर्गा दाहाल, चित्रप्रसाद सेढाईं, स्वस्तानी खड्का, शङ्कर ओली, पुस्कर ओली, रुद्रबहादुर ओली, गोपिलाल थामी, रामबहादुर थामीको घर जलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार स्थानीय रुद्रबहादुर ओलीको घरबाट आगोलागी भएको थियो। विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने आशङ्का गरिएको छ। सदरमुकाम चरिकोटबाट खटिएको प्रहरी सशस्त्र र दमकलसहितको टोलीले आगो नियन्त्रणमा लिएको छ।
आगलागीका कारण लाखौँको क्षति हुनुका साथै पशु चौपाया पनि मरेको प्रहरीले जनाएको छ ।