झापा। झापाको रतुवा र मावा खोलाको जोखिमयुक्त क्षेत्रमा तटबन्धनको कामले तीव्रता पाएको छ । दमक नगरपालिका आसपास क्षेत्रको समस्याको रूपमा रहेका यी दुई खोलाको विभिन्न जोखिमयुक्त क्षेत्रको साढे ११ किलोमिटर क्षेत्रमा तटबन्धनको काम भइरहेको हो।
यी दुई खोलाले बर्सेनि जनधनको ठूलो क्षति गर्दै आएका थिए। झापाको दमक नगरपालिका, कमल गाउँपालिका, गौरादह नगरपालिका र मोरङको उर्लाबारी नगरपालिकाको विभिन्न जोखिमयुक्त क्षेत्र पहिचान गरिएका ठाउँहरूमा तटबन्धनको काम भइरहेको पाइएको छ। जोखिमयुक्त क्षेत्र पहिचान गरिएको २ सय मिटर देखि ७ सय मिटरसम्मका ठाउँहरूमा तटबन्धनको काम भइरहेको हो ।
एचजेडएमसी–मैनाचुली–रोशन जेभीले ७० करोड ४६ लाखमा तटबन्धननको जिम्मा पाएको छ । खोला तटबन्धनको कामका लागि बि.स २०७८ को जेठमा सम्झौता भएको थियो ।
काम सुरु गर्न केही ढिला भए पनि अहिले अधिकतम कामदार लगाएर कामलाई तीव्रता दिएको बताइएको छ।
आधुनिक रूपमा खोला तटबन्धनसहित तटबन्धन भएको स्थलमाथि ग्राभेलसहितको सडक समेत रहनेछ । तटबन्धन जोगाउन ग्रिनबेल्टको अवधारणा पनि यसमा रहेको जनाइएको छ । दमकमा ग्रिनबेल्टसहित खोला नियन्त्रण र चक्रपथलाई पुरानो योजनाको रूपमा लिइन्छ ।