धनुषा। स्थानीयबासीले अरुण तेश्रो जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माणको काममा अवरोध पुर्याएका छन्। उचित मुआब्जाको माग गर्दै महोत्तरीको लोहारपट्टी नगरपालिका–८ भगवानपुरमा स्थानीयले काम रोकेका हुन्।
महोत्तरीमा अहिले पोलमाथि तार तान्ने काम भइरहेको छ । स्थानीयबासिन्दाले तार मुनिको खेत र क्षति भएको बालीनालीको उचित मुआब्जा दिनु पर्ने माग गरिरहेका छन् ।
त्यस क्षेत्रमा पोल गाडिएको खेतको प्रति कठ्ठा ४ लाख ६८ हजार मुआब्जा दिइसकिएको छ । तर तार मुनिको खेतको प्रतिकठ्ठा ७० हजार २०० रुपैयाँ मात्र दिने भनिएको छ ।
तर स्थानीयबासिन्दाले तारमुनिको जमिनमा रुख विरुवा लगाउन र घर बनाउन नपाइने भएकाले पोल गाडिएकै खेतको बराबर मुआब्जा पाउनु पर्ने माग राखेका छन् । उनीहरुले तारतान्दा क्षति हुने बालीको मुआब्जा दिनु पर्ने पनि अडान राखेका छन् ।
मुआब्जा नदिएसम्म तार तान्न नदिने उनीहरुको भनाइ छ।
भारतीय सरकारी कम्पनी सतलज जलविद्युत निगमले अरुण तेश्रो जलविद्युत आयोजना बनाइरहेको छ । संखुवासभामा उत्पादन हुने विजुली महोत्तरी हुँदै भारत लैजान प्रसारण लाइन निर्माण भइरहेको छ ।