काठमाडौं। सर्वोच्च अदालतमा हवाई सुरक्षासम्बन्धी रिट दर्ता भएको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार रिट दर्ता गराएका हुन्।
हवाई दुर्घटनाको जाँच गर्न स्वतन्त्र, स्वायत्त एव स्थायी संयन्त्र निर्मित गरी पाऊँ भन्दै दर्ता गरिएको रिटको पेसी माघ २४ गते तोकिएको छ। अधिवक्ता त्रिपाठीले उरिट निवेदनमा ६ वटा मागदाबी उल्लेख गरेका छन्।
विशेषज्ञहरूको उच्चस्तरीय समिति गठन गरी उड्डयन क्षेत्रसँग सम्बन्धित विद्यमान कानुन, नियम, सुरक्षा मापदण्डहरूको समग्र रूपमा समीक्षा गरी विशेषज्ञ समितिको खोज एवं सिफारिस बमोजिम हवाई यातायातको सञ्चालनसम्बन्धी विद्यमान कानुन, नीति एवं हवाई सुरक्षा मापदण्डहरूको संशोधन एवं परिमार्जन गर्न निवेदनमा माग गरिएको छ।
यस्तै उनले हवाई दुर्घटनाको जाँच गर्न स्वतन्त्र, स्वायत्त एव स्थायी संयन्त्र निर्माण गर्न समेत माग राखेका छन्।
निवेदनमा उल्लेख गरिएको छ, ‘नागरिक उड्डयनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी अन्तर्गत प्रतिपादित मापदण्ड तथा सिफारिसहरू (स्ट्याण्डर्ड एण्ड रिकमेण्डेड प्र्याक्टिसेज), तत्काल लागू गरी पाऊँ।’